काठमाडौं, जेठ ५ :

चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले नेपाल भारत खुला सीमाका कारण यहाँका व्यापारिक ‘सुपर मार्केट’ तथा खाद्यन्न पसलमा  आयोडिनविहीन भारतीय नुन खुलमखुला बिक्री वितरण भइराखेकामा चिन्ता व्यक्त गर्दै  आम उपभोक्ताको स्वास्थ्यमा असर पुर्याउन यस्ता नुनलाई  बजार अनुगमन गरेर जफतसमेत गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।  

अर्कोतर्फ सरकारले नुन बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड एवं गुणस्तरअनुसार आयोडिनको मात्रा नभएको नुन बिक्रीवितरण हुँदा भविष्यमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको उनीहरुको तर्क छ ।