मोरङ, जेठ ८ :

कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मुस्लिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज ग्रहण गरेका छन् । आयोगका कार्यवाहक अध्यक्ष मोहमदिन अलीले एक समारोहकाबीच सो प्रतिवेदन प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन व्यवस्थित एवं वैज्ञानिक रहेको बताए । उनले आफ्ना काम, कर्तव्य तथा सामाना गर्नुपरेको कठिनाइका बाबजुद पनि आयोगलाई जीवित एवं सशक्त बनाउने प्रयास सराहनीय रहेको बताए ।

प्रदेश प्रमुख खापुङले आयोगको समस्या आयोगको मात्र नभएर देशको भएकाले देखिएका समस्या समाधान हुन सकेमा मात्र देश समृद्ध हुनेमा जोड दिए। उनले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई कायम राख्न सरकारले आयोगले देखाएका समस्यालाई समाधान गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा आयोगका अध्यक्ष अलीले संविधानमा व्यवस्था भएबमोजिम कानुनको परिधिभित्र रहेर आयोगले काम गरिरहेको जानकारी दिए । उनले समुदायस्तरबाट आएका सुझाव र समस्यालाई समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।