काठमाडौं, जेठ १९ :

प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । विपक्षी दलहरुले नाराबाजीसहित बेल घेराउ गर्न पुगेपछि सभामुख डोलप्रसाद अर्यालले आजको कार्यसूची हटाउँदै बैठक यही जेठ २५ गते सोमबार बस्ने गरी स्थगित गरिएको जानकारी गराए ।

बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए। निरन्तर विरोध गर्न थालेपछि सभामुख डीपी अर्यालले विपक्षी दलका सांसदहरुलाई पालैपालो बोल्न समय दिएका थिए । जब सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गर्न थाले त्यसपछि उनीहरुले नाराबाजी गरेका थिए । 

विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमाना मिचेको भन्ने अभिव्यक्ति फिर्ता लिएर सदनमा आएर माफी माग्नु पर्ने अडान लिएका छन् । अर्को बैठक यही जेठ २५ गते सोमबार बस्ने छ । यो बीचमा सभामुखले बैठक सञ्चालनका लागि प्रधानन्त्री, सत्तापक्ष र प्रतिपक्षसँग छलफल गरेर बैठक सञ्चालनको प्रयास गर्ने बुझिएको छ ।