काठमाडौं, जेठ २४ :

विपक्षी दलहरूको निरन्तर विरोधका कारण स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएको छ। सदनको गतिरोध अन्त्य गर्न ६ दिनको समय उपलब्ध भए पनि यस अवधिमा विवाद समाधानका लागि कुनै ठोस पहल भएको देखिएको छैन।

प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा सम्बोधन गर्ने क्रममा “नेपालले पनि भारतको धेरै सीमा मिचेको छ” भन्ने अभिव्यक्ति दिएपछि त्यसको विपक्षी दलहरूले कडा विरोध गर्दै आएका छन्। विपक्षीहरूको माग छ– प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि गर्न मिचिएको भनिएको सीमा स्पष्ट रूपमा देखाउनुपर्छ, अन्यथा संसद्को रोष्ट्रमबाट सार्वजनिक रूपमा माफी माग्नुपर्छ।

विवाद चर्किएपछि संसद् बैठक तनावग्रस्त बनेको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले जेठ १९ गतेदेखि २५ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको सदनभित्र मात्र होइन, सदनबाहिर पनि व्यापक आलोचना भइरहेको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत विपक्षी दलहरूले लगातार संसद्को बेल घेराउ गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ वा माफी नआएसम्म आफ्नो विरोध जारी रहने संकेत दिएका छन्।

यता, भोलि बस्ने बैठकमा स्वयं प्रधानमन्त्री उपस्थित भएर विपक्षी दलहरूको माग सम्बोधन गर्नेछन् वा छैनन् भन्ने विषय चासोका रूपमा हेरिएको छ। यद्यपि, अहिलेसम्म सभामुख अर्यालले विवाद समाधानका लागि सत्तापक्ष वा विपक्षीसँग कुनै औपचारिक छलफल वा सर्वदलीय बैठक आयोजना गरेका छैनन्।यस कारण भोलिको बैठकले संसद्को जारी गतिरोध अन्त्य गर्ला या थप राजनीतिक टकराव निम्त्याउला त्यो भने हेर्न बाँकी नै छ ।