
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहज रुपमा सदनको कामकारवाही अघि बढाउन विपक्षी दलहरुसंग आग्रह गरेका छन् ।
सोमबार सिंहदरबारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंग छलफल गर्दै लामिछानेले सीमाका विषयमा प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिपछिको परिस्थितिलाई सहज रुपमा निकास दिन आफू तयार भएको भन्दै सदनको कामकारवाही अघि बढाउन आग्रह गरे ।
उनले सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा जवाफ दिने प्रस्ताव गर्दै आवश्यक परे आफूले पनि यसको जवाफ दिने प्रस्ताव राखेका थिए । तर विपक्षी दलका नेताहरुले सदनमा प्रधानमन्त्रीले नै अभिव्यक्ति दिएकाले स्वयं प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने अडान राखेका थिए ।
बैठकपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लामिछानको भारत भ्रमण र सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको बताए। उनले संवैधानिक व्यवस्थालाई भत्काउने काम नगर्न सुझाव दिएको जानकारी दिए । सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व रहेकाले गम्भीर भएर अघि बढ्न सुझाव दिएको उनको भनाइ छ ।
त्यस्तै एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सीमाका बिषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने प्रस्ताव आएको र आफूहरुले प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्ने जवाफ दिएको बताए ।
त्यस्तै रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले अवरुद्ध सदन खुलाउनका लागि दलहरुसंग छलफल भएको बताए । सीमाका बिषयमा परराष्ट्रमन्त्रीले जवाफ दिने प्रस्तावमा बिपक्षी दलहरु सहमत नभएको उनको भनाइ छ ।
बैठकमा सभापति लामिछानेले आफ्नो भारत भ्रमण र भ्रमणका क्रममा भएका छलफलका बारेमा समेत सर्वदलीय बैठकमा जानकारी गराउनुभएको बुर्लाकोटीले बताए ।