काठमाडौं, असार १० :

नेपालमा अवैध रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५ डल्लु, सितापाइलालगायत क्षेत्रमा सञ्चालित कपडा कारखानामा काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पासपोर्ट नभएका र पर्यटक भिसाको अवधि सकिएपछि काममा लागेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका बंगलादेशी नागरिक विभिन्न समयमा नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।प्रहरीले उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाएको जनाएको छ ।