काठमाडौं, असार १५ :

सवारी साधनको कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ आफैं ट्राफिक प्रहरी कार्यालय पुगेका छन्। उनले सोमबार आफूले प्रयोग गर्ने सरकारी सवारीको कालो सिसा हटाएर अभियानमा सहयोग गरेका हुन्। गृहमन्त्रीसँगै गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सवारी साधनको कालो सिसा पनि हटाइएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले अवैध गतिविधि तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सवारी साधनमा जडान गरिएका कालो सिसाविरुद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी सुरेश काफ्लेका अनुसार कालो सिसा प्रयोग भएका सवारी साधन अवैध गतिविधिमा बढी प्रयोग हुने गरेको पाइएको छ। उनका अनुसार यस्ता सवारीबाट स–साना हतियार तथा लागुऔषध ओसारपसार, लागुऔषध सेवन, सुन तस्करीजस्ता अपराध हुने गरेको छ। साथै अपराधीहरू फरार हुन पनि कालो सिसा जडान गरिएका सवारी प्रयोग भएको अनुसन्धानबाट देखिएको उनले बताए।

एसएसपी काफ्लेले सबै सरकारी तथा निजी सवारीधनीलाई नियमको पालना गर्दै कालो सिसा हटाउन आग्रह गरेका छन्। ट्राफिक प्रहरीले अभियानलाई निरन्तरता दिँदै नियमविपरीत कालो सिसा प्रयोग गर्ने सवारीमाथि आवश्यक कारबाही गरिने जनाएको छ।