
देशभर ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान चलाइरहेको छ। सर्वसाधारणले जरिवानाको डरले मात्र नभइ कानुनको सम्मान गर्दै आफ्ना गाडीबाट धमाधम कालो सिसा हटाएका छन्। तर सरकारको नेतृत्व गरिरहेको दलका केही नेताहरू भने कालो सिसावाला गाडीमै सयर गरिरहेका छन् ।
कहिले सुशासनको घण्टी बजाउने, कहिले कानुन सबैका लागि बराबर भन्ने तर, आफ्नै गाडीमा भने कालो सिसा यथावत् राख्ने? यस्तो देखिँदा नागरिकले कानुन जनताका लागि मात्र हो कि नेताका लागि पनि? भनेर प्रश्न सोध्नु स्वाभाविक हो ।
बुधबार घण्टीघरमा आयोजित शपथग्रहण कार्यक्रममा पुगेका केही नेताहरूका सवारीमा कालो सिसा देखिएपछि प्रश्न उठेको छ । सुशासनको सुरुवात आफ्नै गाडीबाट किन भएन? प्रहरीले सर्वसाधारणको गाडी रोकेर कालो सिसा उखेल्ने, तर सत्तादलको नेताहरुको गाडी भने नदेखेजस्तो गर्नु ठिक भएन सर्वसाधारणको गुनासो छ ।
झन् विडम्बना त के भने, सरकारले नै अभियान चलाएको छ, जरिवाना बढाएको छ र नागरिकलाई नियम पालना गर्न आग्रह गरेको छ। यस्तो अवस्थामा आफ्नै दलका नेताहरूले उदाहरण प्रस्तुत गर्नुपर्थ्यो। यदि नियम सबैका लागि बराबर हो भने कालो सिसा हटाउने अभियानको सुरुवात नेताहरूको गाडीबाट हुनुपर्थ्यो, तर यहाँ सर्वसाधारणबाट गरिएको छ।