
कागेश्वरी मनोहरा नगरपालिकाले पछिल्ला केही दिनदेखि भू-सेवा प्रवाहमा देखिएको अवरोध नगरपालिकाको आन्तरिक व्यवस्थापनका कारण नभई केन्द्रीय प्रणालीमा भइरहेको प्राविधिक स्तरोन्नति (अपग्रेड) का कारण भएको स्पष्ट पारेको छ।
नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै देशभरका स्थानीय तहमा सञ्चालन हुने पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम (पाम्स) को केन्द्रीय प्रणाली स्तरोन्नतिको क्रममा रहेकाले सेवा प्रवाहमा समस्या देखिएको जनाएको हो। नगरपालिकाका अनुसार उक्त समस्या कागेश्वरी मनोहरा नगरपालिकामा मात्र सीमित नभई देशभरका स्थानीय तहमा देखिएको प्राविधिक समस्या हो।
विज्ञप्तिमा केन्द्रीय प्रणालीमा आएको प्राविधिक गडबडीका कारण सेवा प्रवाहमा केही ढिलाइ भएको अवस्थामा सामाजिक सञ्जालमार्फत नगरपालिकालाई मात्र दोषी देखाउने गरी तथ्यहीन र भ्रामक प्रचार गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
नगरपालिकाले नगरवासी तथा सेवाग्राहीलाई यस्ता अफवाह र भ्रामक सूचनाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ।
प्राविधिक चुनौतीका बाबजुद स्थानीयस्तरबाट सेवाग्राहीलाई सकेसम्म सहज र प्रभावकारी सेवा उपलब्ध गराउने प्रयास जारी रहेको नगरपालिकाले जनाएको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउन आन्तरिक छलफल, नियमित समीक्षा तथा आवश्यक तयारी भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ। केन्द्रीय प्रणालीको समस्या समाधान हुनासाथ सेवा पूर्ण रूपमा सुचारु हुने जनाउँदै नगरपालिकाले त्यस अवधिसम्म सेवाग्राहीसँग धैर्य र सहयोगका लागि अनुरोध गरेको छ।