दाङ, साउन ६ :

दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मनिराम चन्दको निर्माणाधीन घरको खाली पानी ट्याङ्कीमा आज दुई जना पुरुष मृत अवस्थामा भेटिएका हुन्। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) दीपक श्रेष्ठका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ। प्रारम्भिक सूचनाअनुसार मृतकमध्ये एक जना ठेकेदार र अर्का एक जना मजदुर हुन सक्ने प्रहरीले जनाएको छ।

प्रहरीले ट्याङ्कीभित्र अक्सिजनको कमीका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको भए पनि मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदनपछि मात्र पुष्टि हुने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।