
नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला बोलाएको छ । संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा संयोजक तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला बोलाएको घोषणा गरेका हुन्। उनले भने,‘‘हाम्रो राष्ट्रिय भेला साउन २९ गते काठमाडौंमा हुन्छ। यो थ्रेट होइन।’
यस्तै, कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले युवालाई अघि सारेर हिँड्न आफू तयार रहेको बताए। उनले भने, ‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ। हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवज भएर हिँड्न तयार छौं। ’ खड्काले बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न नसक्ने बताए।
यस्तै अर्का नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय गर्ने बताए। सभापति गगन थापालाई साहसी बन्नुस् भन्दै कपट नराखी पार्टी एकताको पहल गर्न सिटौलाले आग्रह गरे ।
नेता डा. शशांक कोइरालाले पार्टी विभाजन भए त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी सभापति थापाले लिनुपर्ने बताए।
कांग्रेसभित्र जन्मिएको हुकुमी शासन सह्य नहुने बताउँदै। निरंकुशताको अन्त्य गर्न जरुरी रहेको कोइरालाको भनाइ थियो। सभापति थापालाई कोइरालाले प्रश्न गरे, ‘के नेपाली कांग्रेसले बीपीको विचार थाँती राखेको हो?’
यसैगरी नेता विमलेन्द्र निधिले आफूहरुको सामान्य मागलाई स्वीकार गरिएन भने नयाँ बाटो तय गर्न बाध्य हुने बताए ।
राष्ट्रिय भेलाबाट नयाँ राजनीतिक बाटो रोज्ने पनि निधिले बताए । एकताका लागि पटक-पटक प्रयास गरिरहेको तर सभापति थापामा आवश्यक दूरदर्शिता नदेखिएको र अपरिपक्वता प्रदर्शन गरेको उनको भनाइ छ। नेताहरूले राष्ट्रिय भेलाबाट नयाँ पार्टी घोषणा गर्ने प्रष्ट संकेत गरेका छन्। योसँगै कांग्रेस औपचारिक रुपमा विभाजनको दिशातिर गएको छ।