
वर्षायाममा बारम्बार डुबान हुने माइतीघर क्षेत्रको दीर्घकालीन समाधानका लागि ढल निकास प्रणाली फराकिलो बनाउने काम सुरु गरिएको छ।
काठमाडौँ महानगरपालिकाले ठूलो वर्षा हुँदा नियमित रूपमा जलमग्न हुने माइतीघर क्षेत्रमा पानीको सहज निकास सुनिश्चित गर्न माइतीघरबाट नेपाली सेनाको मुख्यालयतर्फ जाने मार्गको ढल तथा नाला सफा गर्ने र फराकिलो बनाउने अभियान थालेको हो। सोही क्रममा डोजर प्रयोग गरी नाला खुलाउने काम भइरहेको महानगरले जनाएको छ।
हालै सम्पन्न प्राविधिक अध्ययनले माइतीघरको डुबान प्राविधिक त्रुटि, अव्यवस्थित सहरीकरण र संरचनागत अतिक्रमणको संयुक्त परिणाम भएको निष्कर्ष निकालेको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित चार सदस्यीय संयुक्त प्राविधिक टोलीले साउन ६ गते स्थलगत निरीक्षणपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनअनुसार विगतमा माइतीघर चोकसँगै रहेको होचो तथा खाली जग्गाले प्राकृतिक जलाशयको भूमिका निर्वाह गर्दै आएको थियो। कङ्क्रिट संरचनाले होचो भूभाग ढाकेपछि पानी जमिनमा सोसिने क्षमता समाप्त भएको र वर्षा हुनेबित्तिकै सम्पूर्ण भेलपानी माइतीघर चोकमा जम्मा भई डुबानको समस्या बढ्दै गएको निष्कर्ष प्रतिवेदनले औँल्याएको छ।
महानगरले ढल निकास क्षमता बढाएर दीर्घकालीन पूर्वाधार सुधारका माध्यमबाट माइतीघर क्षेत्रको डुबान समस्या न्यूनीकरण गर्ने लक्ष्य राखेर काम सुरु गरेको हो।