
कागेश्वरी मनोहरा नगरपालिका-५ मा आयोजित निःशुल्क क्षयरोग (टिबी) परीक्षण शिविर सम्पन्न भएको छ । नगरपालिकासँगको सहकार्यमा जापान-नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) ले मंगलबार आयोजना गरेको यस शिविरमा ३१७ जनाले परीक्षण गराएकोमा ३ जनामा क्षयरोग पुष्टि भएको स्वास्थ्य शाखाकी कन्चन श्रेष्ठले जानकारी दिइन् ।
नगरपालिकाको स्वास्थ्य शाखाकी क्षयरोग संयोजक श्रेष्ठका अनुसार परीक्षण गरिएकामध्ये तीन जनामा क्षयरोग देखिएको हो। पुष्टि भएका तीनमध्ये दुई जनामा फोक्सोको सर्ने क्षयरोग र एक जनामा ग्रन्थिको नसर्ने क्षयरोग देखिएको छ। फोक्सोको क्षयरोग पुष्टि भएका दुवै जना कारखानामा कार्यरत व्यक्ति रहेको जनाइएको छ।
शिविरका क्रममा थप १७ जना क्षयरोगका शंकास्पद बिरामी भेटिएका छन्। उनीहरूको खकारको नमुना थप परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
शिविरमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित डिजिटल एक्स–रे प्रयोग गरी परीक्षण गरिएको थियो। सो प्रविधिबाट चिकित्सकहरूले तत्काल रिपोर्ट उपलब्ध गराउँदै आवश्यक परामर्शसमेत दिएका थिए।
शिविरमा विशेषगरी कारखानाका श्रमिक, प्रहरी तथा सुरक्षाकर्मी, विद्यालयका प्रधानाध्यापक, क्यान्टिन कर्मचारी, सेवाप्रदायक र व्यापारी वर्गको स्वास्थ्य परीक्षण गरिएको थियो। चिकित्सकहरूले क्षयरोगका लक्षण देखिएमा समयमै परीक्षण गरी नियमित उपचार गरेमा रोग पूर्ण रूपमा निको हुने जानकारी दिएका थिए।
शिविरको निरीक्षण गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि यस्ता स्वास्थ्य अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। आवश्यकताअनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रम तत्काल सञ्चालन गरिने उनको भनाइ थियो।
कागजेश्वरी मनोहरा नगरपालिकाले क्षयरोगमुक्त नगरपालिका बनाउने उद्देश्यले विगत तीन वर्षदेखि क्षयरोगविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।