काठमाडौं, साउन १५ :

‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड’ खुला फुटसल प्रतियोगिता आजदेखि सुरु भएको छ। पेसएक्स स्पोर्ट्सको आयोजनामा बुढानीलकण्ठस्थित  कपन स्पोर्ट्स सेन्टरमा आजदेखि सुरु भएको प्रतियोगिता साउन १७ गतेसम्म सञ्चालन हुनेछ।  

प्रतियोगिताको उद्घाटन पेसएक्स स्पोर्ट्सकी अध्यक्ष संगीता कर्ण, मानव संसाधन निर्देशक कुन्दन कर्ण तथा कार्यकारी निर्देशक डा. रेशव दासले संयुक्त रूपमा गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कर्णले पेसएक्स स्पोर्ट्स नेपालकै पहिलो पूर्णस्तरीय खेलकुद प्रशिक्षण तथा व्यवस्थापन कम्पनी भएको दाबी गरिन्। नेपालमा खेलकुदको सम्भावना प्रशस्त रहे पनि ग्रासरुट तहमा गुणस्तरीय प्रशिक्षण र दीर्घकालीन दिगोपनको अभाव रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय प्रविधि र स्थानीय अनुभवलाई समन्वय गरी खेलकुदको विकासमा योगदान गर्ने लक्ष्य रहेको बताइन्।

उनका अनुसार पेसएक्स स्पोर्ट्स केवल प्रशिक्षण केन्द्रमा सीमित नभई खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसम्बद्ध निकायलाई जोड्ने साझा मञ्चका रूपमा स्थापित हुने उद्देश्य राखिएको छ।

प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएका छन्। पहिलो खेलमा नोबेल फुटबल एकेडेमीले पीसीपीएसलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गर्यो। दोस्रो खेलमा सेखा एफसी र जी एन्ड ए एकेडेमीले २–२ को बराबरी खेले भने तेस्रो खेलमा हिमालयन एफसी र डाइनामिक एफसी १–१ को बराबरीमा रोकिए। चौथो खेलमा एभरेष्ट एफसीले करुणा एफसीलाई १–० ले पराजित गर्यो।

तीनदिने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागी रहेको प्रतियोगिताका खेलहरू व्यावसायिक रेफ्रीमार्फत सञ्चालन भइरहेको छ।

प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले रु ५१ हजार १११ तथा तेस्रो हुने टोलीले रु २१ हजार १११ नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी तथा सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार नेपाली खेलकुदको विकास र विस्तारलाई लक्ष्य बनाएको पेसएक्स स्पोर्ट्सले आगामी दिनमा फुटसलसँगै अन्य विभिन्न खेलकुद प्रतियोगितासमेत नियमित रूपमा आयोजना गर्ने योजना बनाएको छ।