काठमाडौं, साउन १८ :

नेपाल भलिबल संघले चालु आर्थिक वर्षमा चारवटा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा आर्थिक बर्ष ०८३/०८४ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै संघले चालू आर्थिक बर्षम नेपालमा सेन्ट्रल एशियन भलिबल एसोसियसन (काभा) महिला च्याम्पियन्स लिग, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र थ्री नेसन्स कप प्रतियोगिता आयोजना गर्ने जनाएको हो । 

महिला च्याम्पियन्स लिग १ देखि ७ सेप्टेम्बरसम्म काठमाडौंमा हुने संघले जनाएको छ । त्यस्तै संघले ३५औंपुरुष तथा २५औं महिला राष्ट्रिय भलिबल प्रतियोगिता सुर्खेतमा, १०औं क्लब भलिबल च्याम्पियनसिप, काठमाडौंमा,  ११ औं प्रधानमन्त्री कप र ७ औं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल आयोजना गर्ने समेत जानकारी गराएको छ ।

त्यस्तै सेप्टेम्वरमा काभा बिच भलिबल खेल्न नेपाली टोली भुटान जानेछ भने जापानमा हुने २०औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टोलीले सहभागी जनाउने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए । अन्तर्राष्ट्रिय र संघले गर्ने प्रतियोगिताहरू इन्डोरमै गर्नुपर्ने भएकाले भौतिक पूर्वाधारको आवश्यकता रहेको भन्दै उनले निजी साझेदारीलाई अवलम्बन गर्दै क्यालेन्डर सार्वजनिक गरिएको बताए । 

उनले राष्ट्रिय खेल भलिबलको भौतिक पूर्वाधार निर्माणमा नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदको ध्यान जानुपर्ने बताए । नोभेम्बरमा आयोजना हुने काभा महिला च्याम्पियन्स लिग जितेमा नेपाली क्लबले सन् २०२७ को एसियन च्याम्पियन्स लिगमा स्थान बनाउन सक्ने उनले जानकारी दिए ।