
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
कांग्रेस, एमाले र नेकपा मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने पार्टीको धारणा रहेको उनले बताए । बैठकले प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई प्रदान गरेको छ । पार्टीको निर्देशन बिना सत्ता केन्द्रीत कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई निर्देशन गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिए।
बैठकले आगामी मङ्सिर २६, २७, २८ गते काठमाडौँमा हुने महाधिवेशनको तयारीको सन्दर्भमा सोह्रवटा विभिन्न समितिहरू गठन गरेको अध्यक्ष लिङ्देनले बताए ।साथै निरञ्जन थापाको अध्यक्षतामा बनेको विधान मस्यौदा समितिमा केही सदस्य थप गरिएको उनको भनाइ छ ।
उनले मधेस लगाएतका स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै नेपालमा समतामूलक समाज निर्माण गर्न र धार्मिक सहिष्णुताको निरन्तरता कायम राख्न हिन्दु राष्ट्र पुनःस्थापना हुन जरुरी रहेको बताए ।