काठमाडौं, साउन २२ :

रास्वपा सांसद रमेश प्रसाईंले देशभर ग्यासको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै जनताको पक्षमा काम नगर्न नसकेको भन्दै आफ्नै सरकारको आलोचना गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा  सांसद प्रसाईंले सरकारको कामले आफू लज्जित भएको जनाउँदै जनतालाई भएको ग्यासको अभाव प्रधानमन्त्री र मन्त्रीको क्वारमा छ कि छैन भनेर प्रश्न गरे ।

उनले भने, ‘चुनाव ताका आफैँले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ।’

सरकारले भने जस्तै ग्यास ह्वापह्वार्ती आएर पनि कालोबजारी भएको हो भने, ती कालोबजारी गर्नेहरूलाई कानुनको कठघरामा ल्याएर कठोर दण्ड दिन दुई तिहाइको सरकारलाई  केले रोकेको छ ? भनी प्रसाईंले प्रश्न गरे । जनताले नयाँ सरकार चाहेको भनेको चिल्ला ह्यान्डसम नयाँ अनुहार खोजेको होइन। नयाँ चरित्र खोजेको हो जुन हाम्रो व्यवहारबाट पुष्टि हुनुपर्छ उनको भनाइ थियो ।