काठमाडौं, साउन २४ :

 नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विधानसम्मत र वैधानिक रूपमा सम्पन्न भएको दाबी गर्दै सर्वोच्च अदालतको पछिल्लो आदेशलाई आफ्नो पक्षको वैधानिकता पुनः प्रमाणित गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीको विधानमा भएको व्यवस्था र पार्टीका सार्वभौम सदस्यको अधिकार प्रयोग गरेर विशेष महाधिवेशन सम्पन्न गरिएको बताए ।

“विशेष महाधिवेशन आवश्यक मात्र थिएन, यो हाम्रो अधिकारको कुरा पनि थियो,” उनले भने, “यसको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ ।”

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने सम्बन्धमा भएको फैसला पुनरवलोकन गर्ने आदेश दिएको सन्दर्भमा सभापति थापाले अदालतबाट पुनः पुष्टि हुने अवस्थालाई आफ्नो पक्षको वैधानिकता प्रमाणित गर्ने अवसरका रूपमा लिएको बताए ।

विशेष महाधिवेशन विधानअनुसार नै सम्पन्न भएको दाबी गर्दै उनले पार्टीको विधान र सदस्यहरूको अधिकारअनुसार गरिएको निर्णयको वैधानिकतामाथि प्रश्न उठे पनि त्यसको निरुपण संवैधानिक तथा कानुनी प्रक्रियाबाट हुने बताए ।

यसैबीच, सर्वोच्च अदालतको पुनरवलोकन आदेशपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकमा विशेष महाधिवेशनको वैधानिकता, सर्वोच्च अदालतको आदेश तथा त्यसपछि पार्टीभित्र विकसित परिस्थितिबारे छलफल हुने बताइएको छ ।

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर कांग्रेसभित्र विवाद कायम रहेका बेला सर्वोच्च अदालतको पुनरवलोकन आदेश र त्यसपछि बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकलाई चासोका साथ हेरिएको छ ।