ललितपुर, साउन २४ :

नाबालिकाको डिम्ब किनबेच प्रकरणमा डा. नुतन शर्मासँग सरकारी वकिलको कार्यालय, ललितपुरले बयान लिएको छ। बिएन्डबी अस्पतालस्थित आइभीएफ क्लिनिकबाट १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा संलग्न रहेको आरोपमा डा. शर्मासँग बयान लिइएको हो।

फिलिपिन्सबाट फर्किएलगत्तै निवेदन दिएर डा. शर्मा बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित भएकी थिइन्। स्रोतका अनुसार उनले बयानका क्रममा आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेकी छन्।

डा. शर्माले नै १७ वर्षीया किशोरीलाई आर्थिक प्रलोभनमा पारेर आइभीएफ क्लिनिकमा पुर्‍याई डिम्ब निकाल्न लगाएको आरोप छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले डा. शर्मासँग पनि बयान लिएको हो।

सरकारी वकिलको कार्यालयले बिहीबार बयान लिएपछि डा. शर्मालाई हाजिर जमानीमा छाडेको छ। यस प्रकरणमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएर मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा घटनामा संलग्न अन्य व्यक्तिको भूमिकासमेतबारे प्रहरीले छानबिन गरिरहेको जनाएको छ।