
नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा प्रवेश गरेका छन्। चीनको साङ्घाईस्थित अक्टागनमा भएको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै ढाँट फाइनलमा पुगेका हुन्।
तीन राउन्डको प्रतिस्पर्धात्मक खेलमा ढाँट स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन्। तीनमध्ये दुई निर्णायकले ढाँटको पक्षमा २९–२८ अंक दिएका थिए भने एक निर्णायकले समान २९–२८ अंकसहित मर्डाेकलाई विजेता मानेका थिए। निर्णायकको दुई मत ढाँटको पक्षमा गएपछि उनी विजेता घोषित भएका हुन्।
अब ढाँटले रोड टु यूएफसीको उपाधिका लागि र्यो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्। ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
फाइनल जितेमा ढाँट यूएफसीमा छनोट हुनेछन्। यूएफसीमा प्रवेशका लागि महत्वपूर्ण मानिएको रोड टु यूएफसीको फाइनलमा ढाँटले नेपालका लागि ऐतिहासिक उपलब्धि हात पार्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन्।बझाङका ढाँटलाई नेपाली एमएमए वृत्तमा ‘बझाङको बाघ’का रूपमा समेत चिनिन्छ।