
कागेश्वरी–मनोहरा नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका जनस्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न भएको छ। यही भदौ १६ र १७ गते दुई दिनसम्म चलेको समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन, सेवा प्रवाह तथा कार्यक्रमका सूचकहरूको मूल्याङ्कन गरिएको थियो।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तथ्याङ्क अधिकृत कृष्ण तिवारी र उपसचिव पुष्कर बिजुक्षको उपस्थितिमा भएको समीक्षा कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो। प्राप्त सूचक तथा कार्यसम्पादनका आधारमा कागेश्वरी–मनोहरा नगर अस्पताल पहिलो, आलापोट स्वास्थ्य चौकी दोस्रो र डाँछी स्वास्थ्य चौकी तेस्रो भएका छन्।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले वडा नम्बर १ देखि ९ सम्म स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई धन्यवाद दिइन्। दुईदिने समीक्षाले वर्षभरि भएका कामको लेखाजोखा गर्नुका साथै आगामी दिनमा स्वास्थ्य सेवा सुधारका लागि आवश्यक दिशा तय गर्न सहयोग पुगेको उनले बताइन्।
स्वास्थ्यकर्मीको व्यवहारले नगरपालिकाको पहिचान र सेवाको गुणस्तर निर्धारण गर्ने उल्लेख गर्दै उपप्रमुख थापाले भनिन्, “औषधिसँगै बोलीको मलम सबैभन्दा ठूलो कुरा हो। कहिलेकाहीँ औषधि नहुँदा पनि नम्रता र शिष्टताका साथ बुझाएर पठाउन सके नागरिकले ठूलो राहत महसुस गर्छन्।”
स्वास्थ्यकर्मीको मिठासपूर्ण व्यवहारले नगरपालिकाको साख बढाएको उनको भनाइ थियो। नगर अस्पतालको सेवाको प्रशंसा काभ्रे, सिन्धुपाल्चोक तथा तराईका विभिन्न जिल्लाबाट आउने सेवाग्राहीले समेत गर्ने गरेको उनले बताइन्। यसले जनप्रतिनिधि र समग्र नगरपालिकालाई गौरवान्वित बनाएको उनको भनाइ थियो।
यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले स्वास्थ्य संस्थाका प्रमुखहरूले प्राविधिक सेवासँगै प्रशासनिक दायित्वलाई पनि समान रूपमा प्राथमिकता दिनुपर्ने बताए।
उनले स्वास्थ्य संस्थामा रहेका उपकरणको नियमित मर्मतसम्भार, पाम्स (PAMS) प्रणालीको प्रभावकारी प्रयोग तथा म्याद गुज्रिएका औषधिको सुरक्षित व्यवस्थापनमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिए।
सेवाग्राहीको भावना बुझेर गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्न सके मात्र सरकारी प्रयास सार्थक हुने सुवेदीले बताए।समीक्षा कार्यक्रममा उत्कृष्ट ठहरिएका स्वास्थ्य संस्थाका प्रतिनिधिलाई खादा ओढाएर सम्मान गरिएको थियो। सहभागी स्वास्थ्यकर्मी तथा कर्मचारीले आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिको उल्लेख्य सहभागिता थियो।