काठमाडौं, भदौ १८ :

सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब चार खर्बको क्षति भएको अनुमान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज यहाँ आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानअनुसार रु तीन खर्ब ८७ अर्ब ५४ करोडको क्षति भएको जानकारी दिए। विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

साथै चार महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनःस्थापनाका लागि रु सात अर्ब ९५ करोड आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उनको भनाइ छ । “प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, सञ्चार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जालगायतको क्षेत्रको पुनःस्थापनाका लागि उक्त रकम खर्च हुने अनुमान छ”, उनले भने ।

यसैबीच विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये १२ सय ८२ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम (भारतमा भेटिएकासहित) एक हजार २८२ शव फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार प्राधिकरणका अनुसार बाढीमा परी पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए । उनका अनुसार तीन हजारभन्दा बढी होल्डिङ सेन्टर बसिरहेका छन् ।

प्रहरी नायब महानिरीक्षक काफ्लेका अनुसार २१ हजार ४०२ जना सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा निरन्तर रूपमा खटिरहेका छन् । बाढीमा परी घाइते भएका ३०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाले तीन हजार २०६ जना र सशस्त्र प्रहरीले एक हजार ८७४ जनालाई स्वास्थ्य उपचार सेवा दिएको प्राधिकरणले जनाएको छ ।