
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता बाढीपीडितलाई प्रत्यक्ष राहत हुनुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा ओलीले सरकारी कोषमा जम्मा गर्दा रकम त्यत्तिकै थन्किने र पीडितले समयमा नपाउने हुँदा राहत सिधै पीडितको हातमा पु¥याउनुपर्ने बताए ।
राहत सरकारी कोषलाई नभई पीडित जनतालाई चाहिएकाले पीडितलाई सहयोग गरिसकेपछि अवस्था र हैसियत अनुसार मात्र सरकारी कोषमा दाखिला गर्न सकिने उनले बताए । साथै उनले ‘ग्रीन आर्मी’ भन्ने समूहको अस्तित्वप्रति प्रश्न उठाए । गत वर्ष राजनीतिक आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट, आगजनी र हत्याका घटनाहरूमा उक्त समूह आफ्नो पोशाकमा नदेखिए पनि अन्य रूपमा संलग्न थियो कि भन्नेबारे नेपाली जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने उनले बताए ।
उनले नेपालले वातावरणीय विनाश नगरेको भए तापनि त्यसको मार र क्षति भोग्नुपरेकाले संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूबाट विकसित देशहरूसँग दृढतापूर्वक क्षतिपूर्ति माग गर्नुपर्ने बताए ।