
कागेश्वरी मनोहरा नगरपालिकाले आयोजना गरेको ‘कागेश्वरी ५के रन’मा पुरुषतर्फ मुस्कान चालिसे र महिलातर्फ सुनिता खड्का प्रथम भइन्।
‘स्वस्थ कागेश्वरीका लागि दौडौं’ भन्ने नारासहित शनिबार आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ अजय पाण्डे द्वितीय र थाकेन्द्र शर्मा तृतीय हुँदा महिलातर्फ जेनिशा राई द्वितीय र कृतिका ह्यूनमिखा तृतीय भइन्।
विजेता तथा उत्कृष्ट खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिका–१ का वडाध्यक्ष मुकुन्द गजुरेलले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा २ सय ७५ जनाको सहभागिता रहेको थियो ।
शीर्ष १० मा को-को परे ?
पुरुषतर्फ मुस्कान चालिसेसहित अजय पाण्डे, थाकेन्द्र शर्मा, प्रदीप खत्री, रविन्द्र राउत, मनोज तामाङ, अर्मन सिंह शेख, सुरज तामाङ, कुशल अधिकारी र सुरेन्द्र श्रेष्ठ शीर्ष १० मा परेका छन्।
यसैगरी, महिलातर्फ सुनिता खड्कासहित जेनिशा राई, कृतिका ह्यूनमिखा, रोजिता लामा, कृपा रक्का, आग्या खतिवडा, सलिना बिश्वकर्मा, अञ्जली गुप्ता, सुस्मिता क्षेत्री र केशाङ शेर्पा शीर्ष १० मा पर्न सफल भइन्।
थलीस्थित नगरपालिकाको कार्यालय भवनअगाडिबाट सुरु भएको दौड ब्रह्मखेल पुगेर पुनः नगरपालिकाको कार्यालयमा आएर समापन भएको थियो। दौडका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको थियो।
होराइजन इभेन्ट्सको व्यवस्थापनमा आयोजना गरिएको प्रतियोगितामा युवायुवतीसँगै ज्येष्ठ नागरिकले समेत सहभागिता जनाएका थिए। उनीहरूको सहभागिताले प्रतियोगितामा थप उत्साह बढाएको आयोजकले जनाएको छ।
स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा खेलकुदप्रति नागरिकको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले स्वस्थ जीवनशैली र नियमित व्यायामका लागि सकारात्मक सन्देश दिएको वडाध्यक्ष गजुरेलले बताए।