
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई आगामी संयुक्त राष्ट्रसंघको महासभामा हुने उपस्थितिलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकमा बोल्दै सभापति थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए।
भोटेकोसीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले प्रधानमन्त्री शाहलाई विदेश भ्रमण केवल औपचारिकतामा मात्र सीमित नगरी परिणाममुखी बनाउनु पर्ने सुझाव दिएका हुन्। सभापति थापाले केवल आफ्नो सचिवालयको भर नपरी विज्ञहरू, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग परामर्श लिन पनि प्रधानमन्त्रीलाई सुझाव दिए । उनले नेपालभित्र र बाहिर रहेका दक्ष जनशक्तिलाई परिचालन गरी नेपालको प्रस्तुतिलाई प्रभावकारी बनाउन सकिने सम्भावना रहेको बताए।
नेपालको न्यून हरित ग्यास उत्सर्जनका बावजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा थापाको जोड थियो । उनले प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’ को रूपमा मात्र नलिन र देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराए।