काठमाडौं, भदौ २१ :

गोकर्णेश्वर नगरपालिका–९, आरुबारीस्थित नव अरुणिमा माध्यमिक विद्यालयमा अरुणिमा–रमेश विकल अन्तरविद्यालयस्तरीय स्थलगत बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

कुशल चित्रकारसमेत रहेका वरिष्ठ आख्यानकार स्वर्गीय रमेश विकलको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा जिनियस इङ्लिस स्कुलकी सम्झना तामाङ प्रथम, अरुणिमा माध्यमिक विद्यालयकी स्वीकृति तामाङ द्वितीय, शिक्षालय नेपालका युजधोज थापा तृतीय र हिमशृंखला एकेडेमीकी रश्मि श्रेष्ठ चौथों भइन्। त्यस्तै, द सेलिब्रेसन को.एड.का लोमस पुडासैनीले निर्णायक प्रोत्साहन पुरस्कार प्राप्त गरे ।

 

विजयी विद्यार्थीहरूलाई  प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्यले प्रमाणपत्र, ट्रफी तथा मेडलसहित पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले तयार पारेका चित्रहरूको मूल्याङ्कन सृजना कलेज अफ फाइन आर्ट्सका निर्णायकद्वय प्राध्यापक कृष्णगोपाल श्रेष्ठ र भिजुअल आर्टिस्ट सम्झना राजभण्डारीले गरेकी थिइन्।

कार्यक्रममा अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगाना, नव अरुणिमा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद बराललगायतले प्रतियोगिताको पृष्ठभूमि तथा उद्देश्यबारे प्रकाश पारेका थिए ।

अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछाने, रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसे, गोकर्णेश्वर नगरपालिका–९ का वडाध्यक्ष राजीव थापालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत २९ विद्यालयका ५६ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिइने अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष ढुंगानाले जानकारी दिए।