नुवाकोट, भदौ २१ :

भोटेकोसीनदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ र ६ का १४१ वास्तविक पीडित परिवारलाई लायन्स क्लब अफ काठमाडौं ओमकारले राहत सामग्री वितरण गरेको छ।

स्थानीय तहसँगको समन्वयमा वास्तविक पीडित परिवारको पहिचान गरी उनीहरूको आवश्यकताका आधारमा राहत सामग्री सिधै प्रभावित परिवारसम्म पुर्‍याइएको क्लबका अध्यक्ष लायन सुनिल कार्कीले बताए। क्लबका अनुसार राहतअन्तर्गत खाद्यान्न, दैनिक उपभोग्य सामग्री, सरसफाइका सामग्री तथा बालबालिका र महिलाका कपडालगायत अत्यावश्यक सामग्री परिवारको आवश्यकताअनुसार उपलब्ध गराइएको छ।

बाढीका कारण आफन्तको मृत्यु हुनुका साथै खेतीयोग्य जमिन, घर, खाद्यान्न तथा दैनिक जीवनयापनका सामग्रीमा क्षति पुगेका परिवारलाई तत्काल सहयोग उपलब्ध गराउने उद्देश्यले राहत कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ।सहभागीहरूले प्रभावित परिवारको अवस्था अवलोकन गर्दै राहत सामग्री लक्षित परिवारसम्म प्रभावकारी रूपमा पुर्‍याउन सहजीकरण गरेका थिए।

राहत वितरण कार्यक्रमको औपचारिक शुभारम्भ लायन राजन शम्सेर, पीएमजेएफ तथा इन्टरनेसनल डाइरेक्टर, र लायन सूर्यकुमार केसी, लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईका गभर्नरले संयुक्त रूपमा गरेका थिए।

विदुर नगरपालिका–३ मा बाढीका कारण खेतीयोग्य जमिन, गाईवस्तु तथा अन्य पशुधनमा क्षति व्यहोरेका ६१ र वडा नं–६ का ८० परिवारलाई राहत वितरण गरिएको थियो ।

यसैगरी, बाढीका क्रममा हराइरहेका व्यक्तिमध्ये विदुर नगरपालिका–३ का दुई परिवारका सदस्य तथा वडा नं. ६ का एक परिवारका सदस्यलाई पनि लायन्स क्लब अफ काठमाडौं ओमकारले मानवीय आधारमा राहत सामग्री उपलब्ध गराएको थियो।

राहत वितरणलाई केवल भौतिक क्षतिको आधारमा सीमित नराखी बाढीबाट प्रभावित परिवारको समग्र अवस्था र मानवीय आवश्यकतालाई समेत सम्बोधन गर्ने प्रयास गरिएको आयोजकको भनाइ छ।

लायन रामहरि सिलवाल, पीएमजेएफ तथा लायन्स क्लब अफ काठमाडौं ओमकारका चार्टर प्रेसिडेन्टले बाढीपछि प्रभावित क्षेत्रमा राहत पुर्‍याउनु चुनौतीपूर्ण भए पनि वास्तविक पीडित परिवारसम्म सहयोग पुर्‍याउन क्लब प्रतिबद्ध रहेको बताए। उनका अनुसार पुल तथा सडकमा क्षति पुगेका कारण नदीपारिका बस्तीमा राहत सामग्री पुर्‍याउन कठिन भएको थियो।

“हामीले राहत वितरणलाई औपचारिक कार्यक्रमका रूपमा मात्र नभई वास्तविक पीडित परिवारको आवश्यकता सम्बोधन गर्ने मानवीय जिम्मेवारीका रूपमा लिएका छौँ। त्यसैले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पीडितको अवस्था पहिचान गरेर आवश्यक सामग्री प्रत्यक्ष रूपमा परिवारसम्म पुर्‍याएका हौँ,” उनले भने।

कार्यक्रमका संयोजक तथा लायन्स क्लब अफ काठमाडौं ओमकारका कोषाध्यक्ष लायन मधुसूदन रिमालले प्रभावित परिवारका लागि तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना अझ महत्वपूर्ण रहेको बताए। उनका अनुसार बाढीका कारण धेरै परिवारले घर मात्र नभई खेतीयोग्य जमिन, पशुधन र जीविकोपार्जनका आधारसमेत गुमाएका छन्।

“अहिले प्रदान गरिएको राहतले तत्कालको आवश्यकता केही हदसम्म पूरा गर्न सक्छ, तर प्रभावित परिवारलाई पुनः आत्मनिर्भर बनाउन दीर्घकालीन सहयोग आवश्यक छ,” उनले भने।

लायन्स क्लब अफ काठमाडौं ओमकारले आगामी दिनमा समेत सम्भव भएसम्म प्रभावित परिवारको पुनःस्थापना तथा जीविकोपार्जनमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ओमकारका पदाधिकारी तथा सदस्यहरू, विभिन्न लायन्स क्लबका सदस्यहरू र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।