
भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलित नमुनाका आधारमा अहिले विधिविज्ञान प्रयोगशालामा धमाधम डिएनएन परीक्षण भइरहेको छ ।
नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहुने गरी सुक्ष्म रूपमा परीक्षण कार्य अघि बढाइएको छ ।
नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन् । प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटारस्थित प्रयोगशालामा भारतीय र चिनियाँ टोलीले सघाइरहेका छन् ।
डिएनए परीक्षणका लागि चार वटा मेसिन सञ्चालन गरिएको छ । सो मेसिनले आवश्यक तयारीपश्चात ९० मिनेटमा एउटा नतिजा निकाल्छ । अर्को नमुनाको परीक्षणका लागि सो मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने हुन्छ ।
मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा राखेर ७२ घण्टापछि मात्रै प्रक्रियामा लगिन्छ ।
शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।
प्रहरीको प्रयोगशालाको वार्षिक ४०० डिएनए परीक्षण गर्ने क्षमता छ । अहिले दैनिक २५–३० वटा नमुनाको परीक्षण भइरहेको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए । प्रहरीले भदौ १३ गतेदेखि डिएनएको नमुना सङ्कलन गरिरहेको छ । हालसम्म करिब ४०० बढी नमुनाको डिएनए परीक्षण गरिएको छ ।
कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउने विज्ञको भनाइ छ । हड्डी र दाँतको करिब ३० प्रतिशत नतिजा दोहोर्याउनुपर्ने हुनसक्ने बताइन्छ ।
फेला परेका शवको नमुनाबाट जतिसक्दो डिएनएन परीक्षण गर्नेगरी काम भइरहेको प्रवक्ता काफ्लेले बताए । डिएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
“हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा पनि चाँडोभन्दा चाँडो अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ, मेसिन ल्याइसकेका छौँ, ‘सेटअप’ भइरहेको छ, एक हप्ताभित्र सञ्चालनमा आउँछ”, उनले भने । भोटेकोसी विपद्पछिको खोज, उद्धार, शव पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राखी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पहल लिइरहनुभएको छ ।
डिएनए ‘म्याचिङ’ गर्न ‘कोडिस’ सफ्टवेयरको प्रयोग
फेला परेका शव र हराइरहेकाको नजिकको आफन्तको नमूना सङ्कलन गरेर डिएनए म्याचिङ¬ गर्न ‘कम्बाइन डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।
“मृतकको र आफन्तको डिएनए निकालेर सफ्टवेरमा हालेपछि त्यसले ‘म्याचिङ’ गर्ने हो”, केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले भने । कोडिस अन्तरराष्ट्रिय सफ्टवेयर हो ।
“यो सफ्टवेयरले मृतक र आफन्तको डिएनएको रिपोर्ट राखेपछि त्यो सिस्टमले ‘म्याचिङ’ भएको देखाउँछ”, उनले भने, “त्यसपछि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातका आधारमा उक्त शव निकालेर अन्तरराष्ट्रिय अभ्यास र कानुनबमोजिम हस्तान्तरण गर्छौं ।”
डिएनए परीक्षणका कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यससम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ । प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदिइ २४ सै घण्टा ड्युटीमा खटाइएको छ ।
“डिएनए प्रोफाइलिङमा स्वदेशी तथा विदेशी जनशक्तिको सहयोग लिइएको छ । विदेशी जनशक्ति पनि नेपालमा आएका छन्”, उनले भने । डिएनए खर्चिलो र समय लाग्ने परीक्षण हो । त्यसका लागि नेपाल सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गरिदिएको छ ।
मृतकको शव फेला पर्नेक्रम बढिरहेको र आवश्यक उपकरण तथा जनशक्तिको अभावले प्रहरीलाई चुनौती दिइरहेको छ । सातै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन सकिए अहिलेको चुनौती कम हुनेछ ।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पाल बाढी प्रभावित क्षेत्रबाट सङ्कलित मृतक र आफन्तबाट सङ्कलित नमुना आउनेक्रम जारी रहेको बताउँछन् । “सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ”, उनले भने ।
कुनै पनि व्यक्तिको पहिचानका साथै व्यक्तिहरू बीचको जैविक सम्बन्ध स्थापित गर्नका निमित्त डिएनए प्रोफाइलिङ सबैभन्दा प्रभावकारी साधनको रूपमा मानिन्छ ।
शव पहिचानमा प्रहरीका तीन उपाय
फेला परेका शव पहिचानका लागि प्रहरीले तीन उपाय अपनाएको छ । प्रहरी प्रवक्ता काफ्ले डिएनए परीक्षण, शवको औँठा छाप र फोटो भिडान गरेर शवको पहिचानको विधि अलम्बन गरिएको सुनाए ।
हराएका व्यक्ति र शवको फोटो भिडान गर्न प्रहरीले ‘डिजास्टर भिक्टिम आइडिन्टिफिकेसन’ सफ्टवेयरसमेत विकास गरेको छ । “केही शवको औँठाछाप निकालेका छौँ, त्यसलाई प्राविधिक रूपान्तरण गरेर कहाँकहाँ हुन सक्छन् भनेर खोजी गरिरहेका छौँ”, उनले भने ।
औँठाछाप ‘भेरिफाइड’ गर्न प्रहरीले राष्ट्रिय परिचयपत्रलगायतको प्रणालीबाट जैविक विवरण लिइएको छ । यो विधिलाई कम खर्चिलो र छरितो मानिएको छ । यद्यपि, हात नभएका तथा गलेका शवबाट औँठाछाप लिन नसकिने प्रहरीको भनाइ छ ।