काठमाडौं, भदौ २८ :

कागेश्वरी मनोहरा नगरपालिकाले भोटेकोशीको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको संरक्षण, पालनपोषण र शिक्षाको सम्पूर्ण जिम्मेवारी लिने भएको छ।

नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले बाढीबाट अभिभावकविहीन भएका बालबालिकाको भविष्य अन्योलमा पर्न नदिन तत्कालै २५ लाख रुपैयाँको बाल संरक्षण कोष स्थापना गर्ने निर्णय गरेको छ। उक्त कोषमार्फत पीडित बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा तथा आवश्यक व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख कार्कीको संयोजकत्वमा बाल संरक्षण समिति समेत गठन गरिएको छ। समितिको उपसंयोजकमा उपप्रमुख शान्ता थापा रहनेछिन्। समितिमा प्रमुख प्रशासकीय अधिकृत, महिला तथा बालबालिका शाखा प्रमुख, शिक्षासँग सम्बन्धित व्यक्ति तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थाबाट पाँच जना प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ।

नगर प्रमुख कार्कीका अनुसार पूर्णरूपमा अभिभावकविहीन भएका बालबालिकाका लागि छात्रावासको व्यवस्थादेखि उच्च शिक्षासम्मको जिम्मेवारी नगरपालिकाले लिनेछ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनमा करिब दुई सय बालबालिकाले अभिभावक गुमाएको प्रारम्भिक विवरण रहेको उनले बताए।

समितिले आगामी बुधबारसम्म बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्यांक संकलन गर्नेछ। वास्तविक रूपमा सहयोग आवश्यक रहेका बालबालिकाको पहिचान गरी उनीहरूको संरक्षण र शिक्षाका लागि सम्बन्धित स्थानीय तह, नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिने नगरपालिकाले जनाएको छ।

विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित गर्नु सबैको साझा दायित्व भएको नगर प्रमुख कार्कीले बताए।

‘बाढीले अभिभावक गुमाएका बालबालिकालाई अब उनीहरू एक्लै छन् भन्ने महसुस हुन दिँदैनौँ,’ उनले भने, ‘उनीहरूको शिक्षा, संरक्षण र भविष्यका लागि कागेश्वरी मनोहरा नगरपालिका अभिभावकको भूमिकामा उभिन्छ।’

नगरपालिकाले बालबालिकाको दीर्घकालीन शिक्षा र भविष्य सुनिश्चित गर्न आवश्यक पर्ने थप स्रोत जुटाउन देश तथा विदेशमा रहेका नेपाली, समाजसेवी, व्यवसायी, संघसंस्था तथा सहयोग गर्न चाहने सबैलाई सहयोगका लागि सार्वजनिक अपिलसमेत गरेको छ।

‘बालबालिकाको दीर्घकालीन शिक्षा र भविष्य सुनिश्चित गर्न अझ ठूलो स्रोत आवश्यक पर्न सक्छ। त्यसैले सबै सहयोगी मनहरूलाई यस अभियानमा जोडिन आग्रह गर्दछु,’ कार्कीले भने। नगर प्रमुख कार्कीले विपद्का कारण अभिभावक गुमाएका बालबालिकालाई शिक्षा र सुरक्षित भविष्यको अवसरबाट वञ्चित हुन नदिन नगरपालिका निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनामा यसअघि पनि सहयोग गर्दै आएको नगरपालिकाले प्रधानमन्त्री राहत तथा उद्धार कोषमा ७५ लाख ५५ हजार ५७५ रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ।

बाढीबाट सयौँ बालबालिकाले बाबुआमा गुमाएको अवस्थामा उनीहरूको संरक्षण र भविष्यका विषयमा नगरपालिकाले विभिन्न बालआश्रम सञ्चालन गर्दै आएका प्रतिनिधिहरूसँग समेत छलफल गरेको थियो। सोही छलफलपछि अभिभावकविहीन बालबालिकाको दीर्घकालीन संरक्षण र शिक्षाका लागि नगरपालिकाले संस्थागत रूपमा अग्रसरता लिएको हो।