काठमाडौं, भदौ २८ :

काठमाडौंको सुन्दरीजलमाथि निर्माण गरिएको धाप ड्यामको जोखिम कम गर्न पानी घटाउन थालिएको छ । लगातारको वर्षाले ड्यामको उत्तरतर्फको सडकमुनि पहिरो गएपछि नेपाली सेनाले पानी घटाएर मर्मत सुरु गरेको छ ।

 पहिरो प्रभावित क्षेत्रमा पानी पस्न नदिन अस्थायी ड्रेन निर्माण गरिएको छ। हाल धाप ड्यामबाट प्रतिसेकेन्ड ४०० लिटरका दरले २४ घण्टा पानी निकास भइरहेको छ। पानीले जमिन काट्ने क्रम बढ्दा सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको थियो। जोखिम हुन सक्ने भए पनि सडकमुनि गएको पहिरो ड्यामको संरचनामा कुनै क्षति पुगेको छैन। वर्षातको पानीका कारण सिपेच भएर बाटो भासिएको आयोजनाको प्रोजेक्ट म्यानेजर सागर पण्डितले बताए ।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा इन्जिनियर तथा भूगर्भविद्सहितको प्राविधिक टोलीले ड्याम क्षेत्रको निरीक्षण गरेको छ। प्राविधिक टोलीले तत्काल ड्याम फुट्ने वा तल्लो तटीय क्षेत्रमा ठूलो जोखिम रहेको अवस्था नरहेको निष्कर्ष निकालेको छ। यद्यपि, जोखिम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जमिनभित्र पानी पस्न सक्ने सम्भावित स्थानमा प्लास्टिक तथा त्रिपाल बिछ्याउने लगायतका काम भइरहेको छ।

मुख्यतः वर्षायाममा पानी सञ्चय गरी सुख्खायाममा बागमती नदीमा पानी छाड्ने उद्देश्यले निर्माण गरिएको धाप ड्याममा करिब १४ लाख घनमिटरसम्म पानी भण्डारणको क्षमता छ।  
करिब ४५ करोड रुपैयाँको लागतमा एसियाली विकास बैंकको सहयोग तथा जापानी सहयोग नियोग 'जाइका'को अध्ययनका आधारमा बनाइएको यो बाँध नेपालमै पहिलो पटक प्रयोग गरिएको 'कङ्क्रिट फेस रक-फिल' प्रविधिमा आधारित छ। चीनमा हिमपहिरो तथा थुनिएको नदी खोलिदा भोटेकोसी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेपछि कतै यो डयाम पनि फुटेर क्षति गर्ने त होइन भनेर सामाजिक सञ्जालमा व्यापक प्रचारप्रसार भएपछि भूगर्भविद्सहितको प्राविधिक टोलीले ड्याम क्षेत्रको निरीक्षण गरेको हो।