ककरोच जनता पार्टी सीजेपीले आज गर्न लागेको प्रदर्शनअघि भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै केही रेल सेवा रद्द गरिएको जनाइएको छ।
प्रहरीले प्रदर्शनका लागि अनुमति नदिए पनि सीजेपीका नेताले भने पूर्वनिर्धारित कार्यक्रम कुनै हालतमा नरोकिने बताएका छन्।
राजधानीका संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
भारतको ककरोच पार्टी मे महिनामा जेनेरेसन–जेड बीच इन्टरनेटमा भाइरल भएको एउटा भनाइबाट सुरु भएको थियो। जुलाईमा आइ पुग्दा यसले सरकारलाई पछिल्ला केही वर्ष यताकै ठूलो कदम पछि हट्न बाध्य बनायो।
अहिले ककरोचहरू आफ्नो राजनीतिक आन्दोलनको सिजन–२ भन्दै फेरि मैदानमा फर्किएका छन्।
ककरोच पार्टीले उनीमाथी आफ्ना करोडौँ नागरिकलाई मतदानको अधिकारबाट वञ्चित गराएको आरोप लगाएको छ।
ककरोच जनता पार्टी नाम भारतका प्रधान न्यायाधीशले मे महिनामा गरेको भनिएको एक आकस्मिक टिप्पणीबाट आएको हो। उनले देशका बेरोजगार युवाहरूलाई ककरोच र परजीवी भनेको आरोप लागेको थियो। पछि उनले आफूलाई गलत रूपमा उद्धृत गरिएको दाबी गरे। तर बोस्टन विश्वविद्यालयबाट स्नातक गरेका सिजेपीका संस्थापक अभिजीत दिप्केले यही शब्दलाई समाते र ककरोचको जिद्दीपन तथा नष्ट गर्न कठिन हुने विशेषतालाई आन्दोलनको प्रतीक बनाएका छन् ।
त्यसपछि यो आन्दोलन परीक्षा प्रश्नपत्र चुहावटसम्बन्धी विवादमा शिक्षामन्त्रीलाई हटाउन माग गर्दै देशव्यापी रूपमा भएका प्रदर्शनमा पनि सहभागी भयो। युवाहरूका लागि अवसरको अभावप्रति बढ्दो आक्रोशलाई आन्दोलनले समेट्यो र भारतीय इन्टरनेटमा समेत चर्चित बनेका केही घटनाहरू जन्मायो।