नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलिदेखि सुरु हुँदै गर्दा केन्द्रीय पदाधिकारी तथा सदस्यका आकांक्षीहरू बढ्दै गएका छन्। यसैक्रममा डा. भद्रा पराजुली भण्डारीले केन्द्रीय सदस्य उम्मेदवारी प्रस्तुत गरेकी छन्।
परम्परागत राजनीतिक अभ्यासभन्दा पार्टीलाई समयसापेक्ष, आधुनिक र जनउत्तरदायी बनाउने बहसलाई प्राथमिकता दिँदै आएकी भण्डारीले आफ्नो उम्मेदवारीलाई पार्टी रूपान्तरणको एजेन्डासँग जोडेर अघि सारेकी छन्। कांग्रेसभित्र वैचारिक बहस, नीति निर्माण र संगठनात्मक सुधारलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
कांग्रेसमा महिला सहभागिता संख्यात्मक प्रतिनिधित्वमा मात्र सीमित हुन नहुने बहस भइरहेका बेला भण्डारीले आफ्नो उम्मेदवारीलाई नीतिगत र वैचारिक भूमिकासँग जोडेर प्रस्तुत गरेकी हुन्। उनको उम्मेदवारीप्रति युवा तथा पार्टी रूपान्तरणको पक्षमा रहेका महाधिवेशन प्रतिनिधिहरूमा चासो देखिएको कांग्रेसका नेताहरू बताउँछन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समेत सक्रिय भूमिका निर्वाह गरेकी भण्डारीले पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण विभागमा रहेर काम गरेकी थिइन्। विभागमा रहँदा पार्टीका नीति, समसामयिक राजनीतिक विषय तथा नयाँ विचारलाई कार्यकर्तामाझ पुर्याउने काममा उनले भूमिका खेलेकी थिइन्।
भण्डारी लामो समयदेखि गगन थापासँग निकट वैचारिक धारमा रहेर पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन्। थापाले अघि सारेको ‘नवीन कांग्रेस’को अवधारणालाई संस्थागत गर्न केन्द्रीय समितिमा ऊर्जाशील र वैचारिक व्यक्तिहरूको आवश्यकता रहेको उनको धारणा छ।
'१५औँ महाधिवेशन कांग्रेसका लागि केवल नेतृत्व चुन्ने कर्मकाण्ड होइन, यो त पार्टीको भविष्य र रूपान्तरणको दिशा तय गर्ने ऐतिहासिक अवसर हो,” भण्डारीले भनेकी छन् ।'
बागमती प्रदेश कार्यसमितिमा रहेर काम गरिसकेकी भण्डारी पार्टी संगठनका साथै समसामयिक राजनीति, कांग्रेसका चुनौती तथा महिला नेतृत्वका विषयमा लेखन र विश्लेषणमा पनि सक्रिय छिन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। त्यससँगै केन्द्रीय समितिको संरचना र त्यसमा प्रतिनिधित्व गर्ने नयाँ अनुहारलाई पनि महाधिवेशन प्रतिनिधि तथा कांग्रेसभित्र चासोका साथ हेरिएको छ।