गोरखाको बुढीगण्डकीमा एक्कासी ठूलो बाढी आउँदा सल्लेरी बजार बगाएको छ । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ ।
बूढीगण्डकीको स्यारखोलाबाट बाढी आएर नदी थुनिने र खुल्ने हुँदा बस्ती जोखिममा परेको हो ।
आज बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आउन सुरु गरेको हो ।
नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला,सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन गरेर सुरक्षित स्थानमा सर्न भनिएको छ ।
यो बाढीले तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने आशंका गरिएको छ । त्यसैले तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
गोर्खाको चुमनुम्ब्री गाउँपालिका वडा नम्बर ६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । बूढीगण्डकी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्ने गरेको छ ।
बाढीको कारण अहिलेसम्म खुलेको छैन । माथिल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । कतै पहिरो गएर बहाव रोकिएको र पछि बाँध फुटेर आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको विपद् प्राधिकरणले जनाएको छ । तर चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।