काठमाडौं, कात्तिक १० :
अध्यागमन विभागले जोखिमयुक्त उच्च पहाडी तथा हिमाली क्षेत्रमा तीन दिनका लागि पदयात्रा अनुमति बन्द गरेको छ। विभागले जारी गरेको सूचनाअनुसार १२ देखि १४ कात्तिकसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको पूर्वानुमान गरिएकाले पदयात्रा अनुमति बन्द गर्ने निर्णय गरिएको हो।
विभागले उक्त अवधिमा जोखिमयुक्त क्षेत्रमा पदयात्रा नगर्न तथा नगराउन पदयात्री, विदेशी पर्यटक र सम्बन्धित सबैलाई आग्रह गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा जाने अनुमति दिने कार्यसमेत आजैदेखि बन्द गरिएको विभागले जनाएको छ। यसअघि नै उक्त क्षेत्रमा पदयात्रामा गइसकेका पर्यटक तथा पदयात्रीलाई सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ।