शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात

पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
काठमाडौं, कात्तिक १३ :

बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी तथा तराई तथा मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो  अधिकांश स्थानमा बादल लाग्ने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने महाशाखाको पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षा हुने छ ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरी चल्ने सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षासँगै हिमपातको सम्भावना पनि छ ।

त्यसैगरी, आज राति पनि देशका अधिकांश स्थानमा बादल लाग्नाका साथै मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । केही स्थानमा भारी वर्षा तथा हिमपात हुने महाशाखाको अनुमान छ ।

महाशाखाले आज र भोलि देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको तथा  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा तथा एकदुई स्थानमा अति भारी वर्षा र हिमपात हुनसक्ने जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ ।

सम्भावित वर्षाका कारण धानबाली भित्र्याउनेलगायत कृषि कार्य आज र भोलि नगर्न अनुरोध गर्दै महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान अनुरोध गरेको छ । साथै, त्यस्ता क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम अनुकूल नहुँदासम्म सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।

वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार