
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभएको छ ।
आज समितिको वार्षिकोत्सव, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले समितिलाई तत्काल उत्पादन वृद्धि गर्न सुझाव दिँदै औषधि बिक्रीका लागि व्यवस्थित वातावरण बनाउन मन्त्रालय तयार रहेको बताउनुभयो ।
देशभरका सबै स्थानीय तहमा स्वदेशी आयुर्वेद औषधि बिक्री वितरणको व्यवस्थापन मिलाई विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न सकिने उहाँको धारणा थियो ।
“वैद्यखानाले आत्मनिर्भर मात्र नभई निर्यात गर्नसक्ने गरी क्षमता बढाउनुपर्छ । उत्पादन वृद्धि भयो भने आयात बन्द गर्ने काम हामी गर्छौं”, मन्त्री पौडेलले भन्नुभयो ।
उहाँले समितिले आफैँ उत्पादन वृद्धि गरेर कमाउनुको विकल्प नभएको भन्दै आफ्नै आम्दानीको सुनिश्चितता भएमा समितिको आर्थिक स्थिति सहज हुँदै जाने उल्लेख गर्नुभयो ।
“समितिले उत्पादन बढाउँदै आर्थिक स्तर सुधारको पहल गरेमा सरकारले औषधि बिक्रीमा समन्वय र सहयोग गर्नेछ । यसबाट समितिको काम निरन्तर हुनुका साथै कर्मचारीलाई सेवासुविधा उपलब्ध गराउन पनि सरकारलाई सहज हुनेछ ।
सधैँ नोक्सानमा सञ्चालित संस्थालाई निरन्तरता दिन सरकारलाई पनि सहज नहुने भएकाले सबैको साथ र सहयोगीबाट समस्या समाधान गर्दै जानुको विकल्प छैन”, मन्त्री पौडेलले भन्नुभयो ।
मन्त्री पौडेलले मौलिकता, संस्कृति र पहिचानका लागि वैद्यखानाको विशेष महत्व रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा अर्थसमितिका सभापति सन्तोष चालिसेले वैद्यखानाको विकासका लागि आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्वगृहराज्यमन्त्री एवं नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले समितिबाट उत्पादन वृद्धि गर्न सरकारले वातावरण मिलाएमा आफूहरूले विदेशमा समेत निर्यात गर्नेगरी उत्पादन वृद्धि गर्दै जाने बताउनुभयो ।
उहाँले विदेश निर्यातका लागि बजार व्यवस्थापनका लागि सहयोग गर्न मन्त्रीसमक्ष प्रस्ताव राख्नुभयो ।