चितवन, कात्तिक २४ :

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ ।

यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । 

यसका लागि आवश्यक पर्ने उपकरण एक करोड ५० लाखमा खरिद गरेर जनशक्तिलाई तालिम दिएपछि सेवा सुरु गरिएको हो ।
 
एक जना डाक्टर र एकजना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा तालिमका लागि पठाइएको थियो । तालिमप्राप्त जनशक्ति र उपकरण आएसँगै सेवा सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

यसअघि यो परीक्षण धेरै भारत र केही नमूना काठमाडौँ पठाउँने गरिएको थियो । नतिजा आउन १५ दिनभन्दा बढी समय लाग्ने गरेकोमा अहिले पाँच दिनमा नतिजा आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिनुभयो ।

बाहिर पठाउँदा ३० हजारभन्दा बढी खर्च हुने गरेकोमा अस्पतालमा परीक्षण हुँदा १२ हजार मात्रै लाग्ने गरेको छ । परीक्षण सेवा सुरु भएसँगै रक्त क्यान्सरका बिरामीलाई सहज भएको छ ।