
अस्वस्थ जीवनशैलीका कारण मधुमेह पीडितको सङ्ख्या बढिरहेको छ ।
नसर्ने रोगमध्येको एक मधुमेह पीडितमा ‘डायबेटिक रेटिनोपेथी’ को जोखिम पनि उत्तिकै हुने गरेको चिकित्सकले बताएका छन् ।
डायबेटिक रेटिनोपेथी आँखाको दृष्टि पर्दा (रेटिना) मा आउने समस्या हो । तिलगङ्गा आँखा प्रतिष्ठानकी रेटिना विशेषज्ञ डा रबा थापाले मधुमेहका कारण आँखाको पर्दामा हुने असर नै डायवेटिक रेटिनोप्याथी भएको बताउनुभयो ।
रगतमा सुगरको मात्रा धेरै हुँदा आँखाका पर्दाको रक्त नसाहरूमा यसले असर गर्दै जान्छ त्यसो हुँदा रक्तश्राव हुने, पर्दामा चिल्लो निस्किने, रगत जम्ने, पछि रक्त सञ्चालनमा कमी हुनुका साथै उपचार समयमा नभए पर्दा खुम्चिएर दृष्टि सधैँका लागि गुम्ने खतरा पनि हुनसक्ने उहाँको भनाइ छ ।
लामो अवधिसम्म रगतमा चिनीको मात्रासँगै चिल्लोपन बढ्दै जाँदा रेटिनाको स- साना रक्तनलीमा असर पुर्याउने गर्दछ । उक्त रक्तनलीबाट बोसो, रगत र तरल पदार्थ चुहावट हुँदा रेटिना सुन्निएर दृष्टि धमिलो हुने र रेटिना खुम्चिएर दृष्टि गुम्न सक्ने उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभरका २० देखि ७९ वर्ष उमेर समूहका १० दशमलव पाँच प्रतिशत वयस्क जनसङ्ख्यामा मधुमेह हुने र त्यसमध्ये आधा जनसङ्ख्या मात्रै यसबारे जानकार रहेको पाइएको छ।
चिकित्सकका अनुसार यो समस्याले आँखाको अगाडि कालो थोपा (भुसुना) जस्तो देखिने, छायाँ जस्तो देखिने, दृष्टि क्षमता कम हुँदै गएको आभास हुने, धमिलो देखिनेलगायतका लक्षणहरू देखाउन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार स्वास्थ्यकर भोजन, नियमित शारीरिक व्यायाम, सुर्तीजन्य पदार्थको सेवन नगरेमा मधुमेहबाट बच्न सकिन्छ र पूर्व रोकथाम पनि गर्न सकिन्छ ।