काठमाण्डौँ , मंसिर २१ :

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनुभएको छ । 

आज जमलस्थित प्राधिकरणको कार्यालय अनुगमनपछि मन्त्री गुरुङले बोर्ड निर्देशक एवं कर्मचारीलाई निर्देशन दिदै सेवाप्रदायकसँग समन्व्य गरेर जतिसक्दो छिटो आरटिडिएफ परिचालन गर्न निर्देशन दिनुभएको हो । 

मन्त्री गुरुङले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली डिजिटल नेपाल बनाउने अभियान साकार पार्न मन्त्रालय अन्तर्रगतका संस्थानको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सुशासन कायम गर्नका लागि पनि डिजिटल नेपालको परिकल्पना महत्वपूर्ण भएको बताउनुभयो । 

सबै स्थानीय तह र प्रदेशमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमस) लागू गराउन सकियो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले यस वर्ष जसरी भए पनि देशैभरी फोरजीको सेवा विस्तार गर्न निर्देशन दिनुभयो । 

त्यसअवसरमा उहाँले काठमाडौँ महानगरपालिकामा फाइभजी सेवा सुरु गर्न लागिएको समेत जानकारी दिनुभयो । साथै आफ्नै सुरक्षण मुद्रण सञ्चालन गर्न लागिएको उल्लेख गर्नुभयो ।