काठमाण्डौँ , मंसिर २९ :

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गर्नुभएको छ । 

युरोपेली मामिला एवं वैदेशिक व्यापारसम्बन्धी मन्त्रीसमेत रहनुभएका बर्नार्डसँगको भेटका क्रममा उहाँहरूबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायत विषयमा कुराकानी भएको जनाइएको छ। 

भेटका क्रममा मन्त्री डा. देउवाले नेपाल आगामी सन् २०२६ बाट अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी गराउँदै सो प्रक्रियालाई सहज र दिगो बनाउन तथा नेपाललाई आर्थिक, प्राविधिक लगायतको सहयोगका लागि बेल्जियमसँग आग्रह गर्नुभएको थियो। 

नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने र विशेषगरी प्राथमिकता प्राप्त क्षेत्रहरूमा लगानीमार्फत आर्थिक साझेदारीलाई थप विस्तृत बनाउने विषयमा पनि छलफल भएको थियो । 

नेपालको सामाजिक आर्थिक रूपान्तरणका लागि युरोपियन युनियन मार्फत् तथा बेल्जियम सरकार स्वयंले पुर्याउँदै आएको सहयोगका लागि बेल्जियम सरकारलाई मन्त्री डा देउवाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

परराष्ट्रमन्त्री डा देउवाले आफूले केही दिनअघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरका बारेमा प्रस्तुत गर्दै जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उहाँलाई गराउनुभयो। 

जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालले अकल्पनीय क्षति ब्यहोर्नु परिरहेको जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा सहयोग गर्न बेल्जियम सरकार र बेल्जियम मार्फत् युरोपियन युनियनसँग उहाँले आग्रह पनि गर्नुभयो । 

सो वार्तामा मन्त्री डा देउवाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको र यसका लागि आवश्यक नियम कानुनहरू निर्माण भएका जानकारी पनि गराउनुभयो । 

साथै उहाँले विदेशमन्त्री बर्नार्डसँग संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य र मानवअधिकार आयोगको सदस्यमा नेपालले उम्मेदवारी दिन लागेकाले त्यसमा नेपालले बेल्जियम सरकारको सहयोगको अपेक्षा गरेको पनि बताउनुभएको थियो ।