
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनुपरेको बताउनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको बताउनुभएको हो ।
जातीय विभेद अन्त्यका लागि सरकार विद्यमान कानुनमा संशोधनका निम्ति पनि लाग्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकतालाई निमिट्यान्न पार्न वर्तमान सरकार तत्पर रहेको बताउनुभयो । असमानता, अन्याय, छूवाछूत र दुःख भोगेर कोही सुखी हुन सक्दैन भन्दै उहाँले सुखी हुन असमानता र छुवाछूत हटाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताउनुभयो ।
नेपाली कङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र कानुनको पालनाका साथै सामाजिक सुधार पनि आवश्यक भएको बताउनुभयो ।