काठमाण्डौँ , पुस ५ :

नेपाली काँग्रेस, नेपाली जनसम्पर्क समन्वय विभागको पहिलो बैठक सम्पन्न भएको भएको छ ।

काँग्रेस केन्द्रीय सदस्य एवम् विभागका प्रमुख किरणराज शर्मा पौडेलको सभापतित्वमा भर्चुअल माध्यमबाट सम्पन्न बैठकमा स्वदेश र विदेशमा रहेका विभागका सदस्यहरू सहभागी भएका थिए ।

बैठकले विभागले गर्नुपर्ने कामको पहिचान गर्दै विभागका प्रमुख पौडेलले राख्नुभएको तत्कालीन कार्यक्रम पनि पारित गरेको छ । यस्तै, विदेशस्थित जनसम्पर्क समितिहरू मार्फत राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सप्ताह मनाउन उपयुक्त हुने ठहर गर्दै सोका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी विभाग प्रमुखलाई ताकिएको छ ।

विभागले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस सप्ताहमा समसामयिक विषयमा विचार गोष्ठी, नयाँ वर्ष २०२५ का अवसरमा शुभकामना आदानप्रदान, रक्तदान र वनभोज जस्ता कार्यक्रम तय गरी विदेशमा रहेका प्रजातान्त्रिक विचारधारामा विश्वास गर्ने सम्पूर्ण नेपालीलाई समेट्ने गरी व्यवस्था गर्न सम्बन्धित देशका जनसम्पर्क समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

कङ्ग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आठ वर्ष लामो निर्वासन त्यागेर मेलमिलापको नीति प्रतिपादित गरी स्वदेश फर्केको दिन पुस १६ लाई काङ्ग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ ।

बैठकमा विभागका प्रमुख पौडेलले प्रवासीहरूका समस्या समाधान गर्ने उद्देश्यले परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, श्रम मन्त्रालय र पर्यटन मन्त्रालयसँग निकट सम्पर्कमा रही कार्यक्रम तय गरिने जानकारी दिनुभयो ।

काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहनुभएको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा पहिलो चरणमा गत कात्तिक २३ गते २८ सदस्य मनोनयन गर्नुभएको थियो ।