
सङ्घीय संसद् अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक बस्दैछन् ।
आज महिला तथा सामाजिक मामिला समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सीईडीएडब्लु को आधारभूत सिफारिस नम्बर ३९ का सम्बन्धमा छलफल हुनेछ ।
यस्तै, बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवसायको आवश्यकता सम्बन्धमा सङ्कल्प प्रस्ताव कार्यान्वयन अनुगमन उपसमितिबाट समिति समक्ष पेस भएको प्रतिवेदन उपर छलफल हुनेछ ।
राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफलको कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।