काठमाण्डौं, पुस ५ :

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर बिहिबार बेलुकी भेटवार्ता गर्नुभएको हो । पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले पार्टी एकता राष्ट्रिय अभियानलाई पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको विषयमा छलफल गरिएको छ ।

एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्की सहितको उक्त भेटमा दुई पार्टी बीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्ने बारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।  

करिब दुई घण्टा लामो भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु वामपन्थी शक्ति बीच एकता तथा सहकार्य लगायत विषयमा छलफल गरिएको छ । गौतमले पार्टी एकता राष्ट्रिय अभियान स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आउनुभएको छ ।