काठमाण्डौँ , पुस ९ :

सांसदहरुले सुपारी खेती प्रवर्द्धन मार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिएका छन् । 

आज राष्ट्रियसभा अन्तर्गत  विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनिहरुले सुपारी निकासा बढाउन उत्पादन पनि वृद्धि हुनुपर्नेमा जोड दिएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजस्वले गुट्काबाट १० अर्बको राजस्व सङ्कलन  भएको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउनसक्ने धारणा राख्नुभयो । केराउ र मरीच आयात अनुमति नदिए पनि आयात आइरहेको उहाँले दाबी गर्नुभयो । 

समिति सभापति कमला पन्तले आफ्नो उत्पादन आफैँले खपत गर्नुपर्ने र खपत हुन नसकेमा निर्यातका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

सांसद बामदेव गौतमले चोरी निकासी रोक्नका लागि नेपालले खुला सिमाना बन्द गर्नुपर्ने र भिसा प्रस्ताव गर्नुपर्ने बताउनुभएको छ । 

सांसद उर्मिला अर्यालले पनि सुपारी निकासा हुनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक- पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सुपारीको डीएनए परीक्षणका लागि ल्याब स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ । 

सांसद भवनबहादुर सुनुवारले कृषि र उद्योग मन्त्रालयको समन्वयमा सुपारी निर्यातको सम्भावना पहिल्याउन आवश्यक रहेको बताउनुभयो । 

सांसद डा अञ्जान शाक्यले सुपारीको डीएनए टेष्ट गर्न सकिने भन्दै कहिले गर्ने भन्ने समय तोक्नुपर्ने बताउनुभयो । 

सांसद झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रुपमा छलफल आवश्यक भएको बताउनुभयो । 

सांसद सावित्री मल्लले सुपारी उत्पादन चारवटा जिल्लामा मात्रै हुने गरेको उल्लेख गर्दै अन्य १० जिल्लामा सुपारी उत्पादनलाई प्राथामिकता दिन आवश्यक भएकोमा जोड दिनुभयो । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डिएनए टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।