
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषय, व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदान अभिवृद्धि गर्ने विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुुभयो ।
उहाँले कुनै दुई मुलुकबीच आपसी समस्या हुनसक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्क जस्ता क्षेत्रीय सङ्गठनमा पर्न नहुने उल्लेख गर्दै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम तथा स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गर्नुभयो ।
राजदूत हस्मीले आफूहरू पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराउनुभयो । उहाँले आफूहरू आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।