
खानेपानीमन्त्री प्रदीप यादवले काठमाण्डौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताउनुभएको छ ।
मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाण्डौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाण्डौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिनुभयो ।
जनतालाई स्वच्छ, सफा पानी वितरण गर्नु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउँदै मन्त्री यादवले यसका लागि मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो । साथै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालय र अन्य सरोकार भएका निकायसँग पनि छलफल गरी काम गरिरहेको उहाँले बताउनुभयो ।
गत असोज ११ गतेदेखि आएको बाढीबाट क्षतिग्रस्त ललितपुरको धोबीघाट फोहर पानी प्रशोधन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन मन्त्री यादवले निर्देशन दिनुभयो ।
उहाँले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन निर्देशन दिनुभएको हो ।
मन्त्री यादवले खानेपानीको समस्या उत्पन्न भएका ठाउँमा तत्काल जनशक्ति खटाएर समस्या समाधान गर्न मातहतका सबै निकायलाई आग्रह गर्नुभयो ।
ललितपुरको धोबीघाटस्थित प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेर हस्तान्तरण गर्ने तयारी भएकोमा गत असोज ११ गते आएको बाढीले त्यहाँ रहेका भौतिक संरचना तथा उपकरणमा क्षति पुर्याएको काठमाण्डौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रशासन प्रमुख राजेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।