
प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ ।
ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी- किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराउनुभयो । उक्त सडक रक्षा मन्त्रालय अन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेको छ ।
उक्त भेटमा ऊर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाँडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो ।
छलफलमा मन्त्री खड्काले खाँदबारी किमाथाङ्का सडक कोशी ल्हासा राजमार्ग अन्तर्गत रहेको र उक्त खण्ड जोडिएपछि यो सडकले त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
मन्त्री खड्काले यो त्रिदेशीय नाका जोड्ने सडक सञ्चालनमा आएपछि नेपाल- भारत र चीनका अलावा बङ्गलादेशले फाइदा लिनसक्ने उल्लेख गर्दै सडक सञ्चालनमा आएसँगै नेपालको आर्थिक क्षेत्रको विकासमा यो सडक कोशेढुङ्गा बन्नसक्ने बताउनुभयो ।
किमाथाङ्का क्षेत्र हुँदै नेपालको प्रसिद्ध नदी अरुणको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिने र यो सडकको पहुँचमार्फत जलविद्युत् विकासमा उल्लेख उपलब्धि हासिल गर्न सकिने हुँदा यो सडक शीघ्र सञ्चालनको बहुआयमिक महत्व रहेको बताउनुभयो ।
भेटमा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारका रुपमा रहने भएको हुँदा निर्माणमा संलग्न सेनालाई गुणस्तरीय रुपमा यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन आवश्यक निर्देशन दिनुभयो ।