हुम्ला, पुस १४ :

हिमाली जिल्ला हुम्ला सहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । 

शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ ।

हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताउनुभयो । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ । 

यस्तै सदरमुकाम सिमकोट सहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ ।

हिमपात हुँदा तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो । 

सिमकोट गाउँपालिका लगायतका बस्ती हिउँले ढाकिएपछि मानिससँगै पशुपङ्क्षी समेतलाई असर परेको छ ।

सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा रहेका सवारी साधन हिउँले ढाकिएका छन् ।

हुम्लामा मात्रै यो सिजनमा तेस्रो पटक हिमपात भएको हो ।