काठमाडौं, पुस १९ :

सङ्घीय संसद् अन्तर्गत आज विभिन्न ६ वटा समितिको बैठक बस्दैछन् । 

आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१- ८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ ।

यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजे बस्ने छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने कार्यसूची रहेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । यो समितिको बैठक पनि बिहान ११ बजे बोलाइएको छ ।

बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो ३ बजे बस्दै छ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने तयारी रहेको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।